देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ। 

स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो। पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए। 

सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो। 

उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो। 

भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ। 

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामासमेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए। 

आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिंदै मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताएका छन्। 

मन्त्री पौडेलले भने, ‘क्यान्सरसँगै मानव अंग प्रत्याारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौँ। ’