मोरङको विराटनगर महानगरपालिका-१५ र १७ स्थितबाट प्रतिबन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भाद्र ३१ गते बिहान साढे १० बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा सङ्कास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भएसँगै उक्त कार चालक विराटनगर-१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार रहेका विराटनगर-१३ का २२ वर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ। यसैगरी, राती साढे ८ बजे सोही टोलीले विराटनगर-१७ मण्डा पोखरीस्थितमा सङ्कास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो। लागुऔषध गाँजा बरामद भएसँगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ। लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ।