राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल यात्रामार्फत हनुमान ढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गरेका हुन्। 
उनलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउन अनुमति दिएका थिए।
यसपछि श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। भाद्र शुक्ल द्वादशीका दिन मङ्गलवार बिहान हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र ध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको मङ्गलवार मुख्य दिन हो। 
जात्रामा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।वर्षा र सहकालका देवताका रुपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा मङ्गलवार पनि गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ। यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।