पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रूप दिने बताएका छन्। 
मङ्गलवार काठमाडौँमा आयोजित नेपाल पर्वतारोहण सङ्घको ३४ औँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा उनले संस्कृति, पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रूप दिने बताएका हुन्। 
उनले भने, ‘संसद्को अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरुलाई अन्तिम रूप दिने काम सक्नेछौँ। हिउँदे अधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकतम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौँ। ऐनहरु समयमै आए भने कानुनी राज्यलाई स्थापित गर्न सक्नेछौँ। अहिले संसदभित्र मन्त्रालयसँग सम्बन्धित विभिन्न छलफलहरू हुने गरेका छन्। ती छलफल र प्रश्नको जवाफ दिने बचनबद्ध पनि गर्दछु।’ 
यसको साथै उनले संस्कृति नीति, पर्यटन नीति र हवाई नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेको भन्दै यसबाट नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिने बताए। 
उनले भने, ‘संस्कृति नीति, पर्यटन नीति र हवाई नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेका छौँ। नेपाल एयरलाइन्सलाई कसरी सुधार गर्ने र सुरक्षाको हिसाबले नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्ने हाम्रो दायित्व छ। नेपाल एयरलाइन्सलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा गम्भीर छौँ। निजी क्षेत्रको भूमिका जति गतिशील हुन्छ, त्यति नै यो मन्त्रालयले टेवा प्राप्त गर्छ।’ 
उनले पर्वतारोहण सङ्घको भूमिका नखुम्चाई, थप सृजनशील, गतिशील र पर्वतारोहणमा अझ थप योगदान गर्ने संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 
यस्तै, अहिले एकले अर्काको खुट्टा तान्ने होइन सहकार्यमा काम गर्ने समय आएको भन्दै काङ्ग्रेस–एमाले एक ठाउँमा आउनुको मूल मर्म पनि यही नै रहेको उनको भनाई छ। 
उनले भने, ‘अहिले एकले अर्काको खुट्टा तान्ने समय होइन, सहकार्यमा काम गर्ने समय हो। सबै मिलेर पहिला देश बचाउ, त्यसपछि मात्र राजनीति, व्यवसाय सबै बचाउन सकिन्छ। त्यसपछि बल्ल प्रतिस्पर्धा गर्न सक्छौँ। काङ्ग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म सबै वर्गले बुझेर एकताको बाटोबाट ८४ सम्म नेपाललाई एउटा गति दिने काम गर्नुपर्छ।’