मोरङको जहदामा सर्पको टोकाइबाट आज बिहानका राति बालिकाको मृत्यु भएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो। सुतिरहेकी नाबालिकालाई पिसाब गर्न भनेर बिहानका राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निकालेका थिए।

पिसाब गर्दैगर्दा घरको आँगनमै बालिकालाई सर्पले टोकेको पाइएको छ। सर्पले डसेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि विराटनगर कोशी अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए।

सर्पले टोकेर घटना भएको जानकारी प्रहरीलाई चिकित्सकले दिएका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।