नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न नसकिएको बताएका छन्। 
मङ्गलवार पार्टी कार्यालयमा आयोजित नेपाली काङ्ग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझै पनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरु कानुनी रुपमा समाधान भएतापनि अझै पनि व्यवहारमा भने लागू हुन नसकेको बताए।
उनले भने,‘एउटा कुरा स्पष्ट छ। नेपाल विभिन्न जातजातिले बनेको देश हो यो। तर अझै पनि विभाजन छ। इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न सकिएको छैन। त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरु अझै पनि कानुनी रुपमा समाधान भएतापनि व्यवहारमा भने लागू भएको छैन।’ 
उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनैपनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिबद्धता जनाए। प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ। 
उनले भने,‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। विद्यार्थी कालदेखि नै जेलनेल सबैकुराहरु भोगेको पार्टी हो। प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन। यसलाई अझ कसरी मझबुद बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढी जवाफदेही बनाउने कुरा आवश्यक छ।’
सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनैपनि हालतमा नहट्ने स्पष्ट पारे।
उनले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे। 
उनले भने,‘प्रदेश संरचना बनिसकेको छ। त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन। यसलाई हटाउन सकिने स्थिति पनि छैन। प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो। सधैँ कति समानुपातिकबाट ल्याउने ? त्यो समस्या चाहिँ छ। समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ।’