देशकै पहिचान जोडिएको हनुमान ढोका दरबार क्षेत्र र आसपासमा धुमधामसँग मनाइने यैयाः (इन्द्रजात्रा) का औपचारिक कार्यक्रमहरु सुरु भइसकेका छन्।
काठमाडौँ महानगरपालिकाको अनुसार भदौ ३० गते बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा यःसिं उठाइनेछ। यसपछि जात्राका औपचारिक कार्यक्रम सुरु हुनेछन्।
जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष शिव पार्वती डबलीमा मौलिक गायन, वादन तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रममा स्थानीय करिब १ सय जना कलाकारले सांस्कृतिक प्रस्तुति गर्ने छन्। कार्यक्रममा गुर्जुको पल्टन र नेपाल प्रहरीको पनि प्रस्तुति रहने महानगरले जानकारी गराएको छ। 
विज्ञप्तिमा लेखिएको छ, ‘जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष केही कार्यक्रम थप गरेको छ। यसरी थपिएका कार्यक्रम मध्ये भदौ ३० गते यःसिं उठाइसकेपछि शिव पार्वती डबलीमा मौलिक गायन, वादन तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम हुनेछ। ‘डबली पुनः स्थापना’ रिभाइभ दबु प्रवर्धनका लागि आयोजना हुने यो कार्यक्रममा स्थानीय करिब १ सय जना कलाकारले सांस्कृतिक प्रस्तुति गर्नु हुनेछ। कार्यक्रममा गुर्जुको पल्टन र नेपाल प्रहरीको पनि प्रस्तुति रहनेछ।’
रथयात्रा सम्बन्धी जानकारी दिनका लागि गएको वर्ष महानगरपालिकाले गल्ली म्याप्सको प्रयोग गरेको थियो। यस वर्ष पनि त्यसैलाई सुधार गरेर प्रयोग गरिने जनाएको छ। 
यस अन्तर्गत श्री कुमारी, श्री गणेश र श्री भैरवको रथमा र लाखे आजु, पुलुकिसी र सव भकु देव नाचमा जिपिएस जडान हुनेछ। यसले रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्रदान गर्नेछ। यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरुलाई सहभागी हुन र स्थानीयहरुलाई पूजाको तयारी व्यवस्थापन गर्न सहज हुने अपेक्षा महानगरले गरेको छ।
नियमित कार्यक्रमसँगै काठमाडौँ महानगरपालिकाले असोज ३ गते पूजासहित लाखे आजु, पुलुकिसी, हल चोक भैरव स (वभकु) र महाकाली नृत्य प्रदर्शन आयोजना गर्नेछ। 
जात्राको गरिमालाई सभ्य र व्यवस्थित सञ्चालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धनको काम गरिरहेको छ। 
यससँगै विगत वर्षमा जात्रा सञ्चालन गरेको र महानगरपालिकाले प्रदान गर्न बाँकी रकम निकासा दिने निर्णय गरिसकेकोमा चालु आर्थिक वर्षको रकम पनि प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।