बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सकेको छैन। 

आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन। यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ। बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ।

पछिल्लो तीन वर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ महिला र २४ पुरुष गरेर ३६ जनाले आत्महत्या गरेका थिए। ती मध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन्। 

यस्तै, आर्थिक वर्ष २०७९/८० मा १३ महिला र १२ पुरुष गरेर २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। यस्तै, गत आर्थिक बर्षमा १६ महिला र १६ पुरुष गरेर ३२ जनाले आत्महत्या गरेका छन्। 

चालु आर्थिक वर्षको साउन मसान्तसम्म मात्रै ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

आत्महत्याका पछाडी आर्थिक र समाजिक कारणहरू जोडिएका हुन्छन्। आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु कारणहरू हुन्। यस्तै सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता सामाजिक विकृतिले समेत मानिसलाई आत्महत्याको बाटो देखाउने गर्दछ। मानसिक तनाव अर्को कारण हो।

त्यसमा कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन सकिन्न भन्ने थाहा पाएपछि धेरैले आत्महत्या गर्ने गरेका छन्।

समाजबाट एक्लिन थालेको महसुस गरेपछि मानिस आत्महत्या गर्ने स्थितिमा पुग्छ। मेरा वरिपरि कोही छैनन्, म एक्लै भएँ भन्ने महसुस गरेपछि उसले बाँच्नुको अर्थ नदेखेर आत्महत्या गर्ने अवस्थामा पुग्ने गरेको मनोविद्हरु बताउँछन्। मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा समेत आत्महत्या बढेको छ।