बाराको निजगढ नगरपालिका-९ भमरा टोलमा मंगलबार राति श्रीमान्‌ले श्रीमतिको हत्या गरेका छन्। शौचालय गएकी ३८ वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४२ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।
बिमलको खुर्पा प्रहारबाट उनकी २ छोरी १७ वर्षीया गंगा राई र जमुना राईसमेत घाइते भएका छन्।
आमालाई बचाउने क्रममा उनीहरूको हातमा घाउ लागेको छ। उनीहरूलाई उपचारका लागि वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा लगिएको उनले बताए। प्रहरी निरीक्षक कुशवाहाका अनुसार बिमल प्रहरी नियन्त्रणमा आइसकेको छ। श्रीमान् र श्रीमतीबीच झगडा पर्दा मदिराको नशाको झोंकमा बिमलले खुर्पा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। शव परीक्षणका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको छ।
दुई छोरीकी आमा लक्ष्मीले बिमल बस्नेतसित ६र७ वर्षअघि दोस्रो विवाह गरी बस्दै आएकी थिइन्। दुई छोरी भने पहिलाकै श्रीमान्‌बाट जन्मेकी हुन्।