चीनले बेइजिङ, तियानजिन, शाङ्हाई, नानजिङ, सुझाउ, फुझाउ, ग्वाङ्झाउ, सेन्जेन र हैनान टापुमा विदेशी लगानीका अस्पताल खोल्न अनुमति दिने तयारी गरेको छ।

यो कदमपछि भारतीय कर्पोरेट स्वास्थ्य क्षेत्र भने उत्साहित देखिएको छ। भारतका धेरै कर्पोरेट हाउसहरूले चीनमा लगानी गर्न चासो देखाएका छन्। 

चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग र नेशनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेशनले संयुक्त दस्तावेजमा अस्पताल स्थापना गर्नका लागि आवश्यक शर्त, प्रक्रिया र आवश्यकता पछि घोषणा गरिने बताएका छन्।

बेइजिङ, शाङ्हाई र ग्वाङ्डोङ र मुक्त व्यापार बन्दरगाह हैनानमा विदेशी उद्यमहरूले मानव स्टेम सेल, जीन निदान र उपचारसँग सम्बन्धित प्रविधिहरू विकास र लागू गर्न अनुमति प्राप्त गर्न सक्नेछन्।

उद्यमहरूले चीनको कानूनी र नियमहरूको पालना गर्नु पर्नेछ र मानव आनुवंशिक स्रोत व्यवस्थापन, औषधि क्लिनिकल परीक्षण, औषधि दर्ता, उत्पादन र नैतिक समीक्षा सम्बन्धी आवश्यकताहरू पूरा गर्नुपर्नेछ । व्यवस्थापन प्रक्रियाहरू पनि पालना गर्नुपर्नेछ।

चीनले सन् २०१४ मा पनि यस्तै घोषणा गरेको थियो र केही भारतीय कर्पोरेट अस्पतालहरूले यसमा चासो देखाएका थिए।

त्यसपछि, भारतका शीर्ष कर्पोरेट अस्पतालका स्वास्थ्य कर्पोरेटहाउसले चीन भ्रमण गरेर त्यहाँ सञ्जाल विस्तार गर्न चासो देखाए, तर त्यसपछि खास प्रगति हुन सकेन।

भारतीय फर्मा क्षेत्रले हालैका वर्षहरूमा चिनियाँ स्वास्थ्य क्षेत्रमा प्रभाव पारेको भए पनि चीनले भारतीय औषधिहरूको पूर्णरूपमा आयातको अनुमति भने दिएको छैन।

भारतीय क्यान्सर औषधिहरूको सस्तो मूल्यलाई ध्यानमा राख्दै, भारतले चीनलाई क्यान्सर उपचारका औषधिहरूको आयात अनुमति दिन दबाब दिइरहेको छ।