मोरङमा बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो चट्याङ परेको छ। चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन्।

चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो। राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएको प्रहरीले जाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजा बुलको घरपछाडि रहेको कटहरको रुखमुनि बालबालिका खेलिरहेका थिए। दिउँसो २ बजेतिर चट्याङ परेर बालबालिका घाइते भएको उनको भनाइ छ।

बेहोस भएका सोफियनलाई उद्धार गरेर रङ्गेली अस्पताल ल्याइएकोमा उपचारका क्रममा दिउँसो २ः४५ बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरेको जानकारी डिएसपी बस्नेतले दिए। रङ्गेली अस्पतालमै उपचाररत नजाराको अवस्था सामान्य छ।