राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन्।
चार महिना सरकारमा बस्दा गरेका कामहरू देखेर राजनीतिक पेसा बनाएकाहरु तर्सिएको पनि बताए।
शनिवार सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दाबी गरेका हुन्।
उनले भने,‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरू खुल्दा राजनीतिक पेसा बनाएकाहरु तर्सिएका छन्। हामी विचलित हुनेवाला छैनौँ, परिमार्जन भएर अगाडि बढ्दै जान्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भ्रष्टाचार गरेभने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन।’
साथै उनले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्याए पनि विचलित नभएको बताए। उनले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गरे।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौँ। भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौँ। त्यहीँ अडिक रहिरहनेछौँ। कतै विचलित भएका छैनौँ, चेन्ज भएका छैनौँ।’