चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’ नामको चक्रवातले त्यहाँको जनजीवन प्रभावित भएको छ। चीनको दक्षिण क्षेत्रमा पर्ने उक्त टापु प्रान्तमा चक्रवातपछि आएको भारी वर्षा र हुरीका कारण जनजीवन प्रभावित भएको हो।
वर्षा र आँधीका कारण ८९ वटा सडक अवरुद्ध भएका छन्। ति सडकहरु खुलाउनेक्रम जारी राखिएको छ। प्रवाभित क्षेत्रमा रेल सेवाहरू पनि अवरुद्ध भएका थिए।
यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहने जनाइएको छ। सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले भने सुचारु भएको छ।
उक्त यागी भियतनामतर्फ मोडिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। भारी वर्षा र हुरीका कारण कम्तीमा दुई जनाको मृत्यु तथा ९२ जना घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।