पाथिभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन्।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडानसहित पुन आन्दोलनको तयारी गरिरहेको बताए। आफूहरुले विगत ६ वर्षदेखि आन्दोलन गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराए।
साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफलबाट सहमति नभई मुक्कुम्लुङमा केबलकार निर्माण कार्य नगर्ने भन्ने सम्झौता उल्लङ्घन भएकोमा आपत्ति समेत जनाए।
सरकारी र व्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबलकार निर्माण  सुरु गरिएकाको लाइसेन्स खारेज नभएसम्म आन्दोलन गर्ने घोषणा गरेका छन्।
जसको लागि मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने व्यापारी कम्पनीलाई केबलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ छोड्न सात दिने अल्टिमेटमसमेत दिइएको छ।
अल्टिमेटम बमोजिम नगरे केबलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरी भदौ २४ गतेदेखि केबलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुङ्लिङ बजारदेखि तल्लो फेदीसम्म अनिश्चित कालीन यातायात बन्द गर्ने घोषणा समेत गरेको छ।
संस्थाहरूले राज्य र स्थानीय नगरपालिका र गाउँपालिकाहरूले अन्यायको विरोध गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्नु दिन हाडै मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चको निरन्तरता भएको आरोप लगाएका छन्।
साथै  मिलेर बसेको समाजलाई जबरजस्ती अन्यायलाई निरन्तरता दिएर भड्काउने, माड्ने षडयन्त्र तत्काल बन्द गर्न समेत चेतावनी दिएका छन्।
आन्दोलनमा प्रसाद लिम्बु संयोजक रहेको मुस्कुम्लुङ संरक्षण संयुक्त सघर्ष समिति, खगेन्द्र फेम्बू, संयोजक रहेको पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याकथुङ चुम्लुङ, सङ्घीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बु बरगत संस्था (याक्युड सयङ) सहजीकरण समूह, प्रेम एक्तेन, संयोजक रहेको प्रदेश नम्बर १ प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति,  रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नम्बर १ प्रदेश पुनः मनोनयन अभियान समिति र  सरस्वती सिंहक (सरु), प्रतिनिधि, मुस्कुम्लुङ तनहाप चुम्बी समूह क्रियाशील छन्।