मोरङको सुन्दरहरैँचामा दुई नाबालिका मृत्यु प्रकरणमा पक्राउ परेकी आमालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छिन्।
उनलाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।
पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन्। त्यही दिन सुन्दरहरैँचा-७ को केरा बगानमा उनका दुई छोरी मृत फेला परेका थिए।
मृतक एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष खुवाएर ज्यान लिएको खुलेको छ। दुवै छोरीलाई मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।
कार्कीका अनुसार पौडेलले भदौ १४ गते राति नै दुई छोरीलाई विष खुवाए ज्यान लिएको खुलेको छ। निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमानसँग विवाद भएपछि उनी छोरी लिएर घरबाट हिँडेकी थिइन्।
पौडेल दम्पतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको प्रहरीले जनाएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ।
‘मलाई पतिले धेरै तनाव दिन्थे। ‘मारेर गाड्छु’ भन्न थाले।‘टर्चर’ सहन सकिन,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे। मर्नलाई भनेर विष पनि लिएर गएकी थिए। छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन।’
सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएको अस्मिताले बताएकी छन्। आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन्।
श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा श्रीमतीविरूद्ध जाहेरी दिएका छन्। पौडेललाई मोरङ जिल्ला अदालतबाट ४ दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।