सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ।
दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरू १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए। उनीहरूलाई सघाउन १०/१५ जना पुरुषहरू पनि सँगै आएका थिए। ऋणी सदस्य महिलाहरू एक्कासि कार्यालयमा पसेर फाइल, कागजपत्रहरू माथिल्लो तलाबाट भुईँतर्फ हुर्‍याउन थालेको एक प्रत्यक्षदर्शीले बताए। 
नाम उल्लेख नगर्ने सर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरूले फाइलमा आगो झोसे। कागज पत्र फाइल जलाएर मात्र छाडेनन्। कम्प्युटरको सिपियु, मोनिटोर र सिसिटिभी क्यामराहरू फुटाए। इन्भर्टरका ब्याट्रीहरू क्षतिग्रस्त बनाइएका छन्। कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो।’
 इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्,‘क्षतिको मूल्याङ्कन यकिन भएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको छ। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरी खोजतलास सुरु गरिएको छ। 
लघुवित्त संस्थाहरूले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरूलाई कारबाही गर्ने अभियानीहरुले दबाब स्वरूप यस्तो हर्कत गरेको हुन सक्ने स्थानीयहरूले बताए।