भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छिन्। 

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौँ नेपाल आएकी हुन्। 

काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। यस्तै १६ जना घाइतेको उपचार भइरहेको छ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रु सवार थिए।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ। 

शव परीक्षण सकिएपछि आजै राज्यमन्त्री खड्सेको नेतृत्वमा दुर्घटनामा ज्यान गुमाएको शव भारत लगिने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्री रमेश लेखकको सचिवालयका जन भट्टका अनुसार भारतीय टोलीसँग गृह मन्त्रालयमा ब्रिफिङ गरिनेछ।

‘गृह मन्त्रालयमा घटनाबारे ब्रिफिङ गरिने छ। त्यसपछि भारतीय टोली भरतपुर जाने र त्यहींबाट भारतीय एयरक्र्याफ्टले शवहरु लिएर भारत फर्किने तालिका छ,’ भट्टले भने।