सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ। साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको भन्दै यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध यशोदा फुड्सले वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो। 

सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने-यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको आरोप वाइवाइले लगाउँदै आएको छ।