सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ। 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुङ्गानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन। ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन। बँदेललाई गतबर्ष नै घोषणा गरिसकेको हो। बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’ उनले भने।

कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ। हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुन विपरीत मानिन्छ।

सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ।

बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पुयाउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ।