नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताएका छन्। 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सबै विद्यार्थीहरुलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन्। 

उनले भने, ‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको शैक्षिक संस्था हो। कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको छ। यसले राम्रो शिक्षा प्रदान गरेको छ र समय अनुसार अन्य विषयहरु पनि सुरुवात गर्ने भएको हुनाले यो बारे सबैलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु।’

उनले पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै सीप र क्षमता विना विद्यार्थीहरु उच्च शिक्षाको नाममा बिदेश जाने प्रवृत्ति बढेको पनि बताए। 

विद्यार्थीहरु आफैँ काम गरेर कमाएर पढ्नुपर्ने, विदेश आएको लाखौ ऋणको दायित्व पनि बहन गर्नुपर्ने परिस्थिति सृजना हुँदा शारीरिक र मानसिक रुपमा बिछिप्त बन्दै गलत बाटोमा हिड्न सक्ने सम्भावना पनि रहेको उनको भनाई छ। 

उनले नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको रहेको भन्दै नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरु विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको भन्दै प्रश्न उठाउने ठाउँ नरहेको बताए।