राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो।
सोही क्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले अब पनि राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौ भने देश विकास हुन नसक्ने बताए।
उनले भने, ‘युवाहरुको सोचलाई लिएर राज्य अगाडि बढ्नुपर्छ। अब पनि हामीले राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौ भने देश फेरि पनि सोचेको जस्तो विकासको बाटोमा अगाडि बढ्न सक्दैन। अब राजनीतिक स्थिरताको लागि कुनै एक पार्टीले बहुमत ल्याउने अवस्थामा पुग्नुपर्छ।’
युवाहरु सकारात्मक सोच, सन्देश र जागरको साथ देश बनाउनको लागि अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ। यसको साथै उनले नेपालमा रोजगारीको कमीले युवाहरु बाहिरिनु परेको भन्दै युवाहरुलाई रोक्नको लागि सीपको विकास गर्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए।
उनले भने, ‘दिगो विकासको क्रममा युवाहरुको विचारलाई पनि समेटेर जानुपर्छ। विश्वशान्ति स्थापना गर्नको लागि युवाहरु पनि लाग्नुपर्छ भनेर अन्तराष्ट्रिय युवा दिवसको सुरुवात भएको हो। नेपालमा रोजगारीको कमप्ले गर्दा युवाहरु बाहिरिनु परेको छ। तत्काल व्यवस्थित रोजगार गर्न नसकेको कारणले पनि युवाहरु बाहिरिनु परेको हो। यसलाई रोक्नको लागि युवाहरु सीपको विकास गर्ने तालिमहरुको व्यवस्था गर्नुपर्छ।’