काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी गरी बिक्री गर्ने १० जना पक्राउ परेका छन्। संगठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छ वटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार निकालेर बिक्री गर्ने गरेको पाइएको छ। 

जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सात जनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो। 

चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको हो।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ। विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।