बाघ भन्ने बित्तिकै हिंसात्मक जनावरको रूपमा बुझ्ने गरिन्छ। मैले फिल्डमा काम गरेको अनुभवका हिसाबले बाघ भनेको एउटा शक्तिशाली जनावर हो जुन एकदमै शान्त वातावरणमा बस्न रुचाउँछ। बाघ एकदम सुन्दर जनावर पनि हो। बाघ जङ्गिँदा देखिने उसको शारीरिक बनावट डरलाग्दो देखिन्छ। नत्र उ एकदम शान्त स्वभावको हुन्छ। घरमा पालिने बिरालो जस्तै हो, यसको आकार मात्र ठुलो हुन्छ। बन जङ्गलमा बस्ने यसले वातावरणीय सुन्दरता पनि बढाएको छ। हामीले जानेको बुझेको र भोगेको आधारमा भन्ने हो भने बाघ सुन्दर र शान्त जनावर हो।
सरकारले बाघ संरक्षणको लागि नीति ल्याएर बाघको संरक्षण गरिरहँदा संरक्षित क्षेत्र वरपर रहेका बाघ पीडित स्थानीयहरूको नजरमा भने बाघ फरक ठानिएको होला। केही मानिसको आफ्नै गल्तीका कारण पनि बाघबाट पीडित हुन परेको छ। बाघ र मानिसको युद्धका कारणले यसलाई फरक हिसाबले हेरिए पनि बाघ मानव जीवनका लागि पनि महत्त्वपूर्ण जनावर हो। यसले विषेशगरी पारिस्थितिक प्रणाली संरक्षणका लागि र विषेशगरी मधेशमा सन्तुलन कायम गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । मधेशमा रहेका धेरै प्रजातिका जनावरहरूलाई पनि एउटा सन्तुलनमा राख्न सक्ने महत्त्वपूर्ण वन्यजन्तु हो बाघ।
नेपालको पर्यटनको क्षेत्रमा समेत बाघले महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालमा बाघलाई मात्र हेर्न भनेर आउने विदेशी पर्यटकहरू समेत छन्। संसारका १३ वटा देशमा मात्र बाघ पाइन्छ भन्ने तथ्य थियो। एक दुई देशमा त बाघहरू लोप हुँदै पनि गएका छन्। केही देशमा यसको सङ्ख्या निरन्तर घट्दै गए पनि नेपाल भने एक अब्बल र आशावादी हुने ठाउँमा आइपुगेको छ। यद्यपि, हामी कहाँ चुनौतीहरू समेत थपिँदै गएका छन्। बाघ हुनुको फाइदा र हानी समेत बराबर छ। त्यसैले पनि धेरैले हिंसात्मक जनावरका रूपमा बुझ्दै आएका छौँ।
रसिया युरोपियन देश भए पनि एसियातर्फको क्षेत्रमा मात्र बाघ पाइने गरिन्छ। सायद प्रकृतिले त्यसै हिसाबले दिएको हो। एसिया महादेशका विभिन्न ठाउँहरूमा पाइने गरे पनि अहिले एकदमै थोरै क्षेत्रमा मात्र भेटिने गर्छ। बाघको आचरण पनि प्रकृतिकै देन हो। बाघको एसिया क्षेत्रमा हुनु प्रकितीकै देन हो। बाघको अन्य देशमा समेत लगेर पाल्ने गरेको भए पनि विषेशगरी एसिया क्षेत्रमा प्रकृतिमै उत्पत्ति भएका हुन् भन्ने अध्ययनले देखाएको छ।
बाघले जे पाए पनि झ्याप्प आक्रमण गर्छ भन्ने होइन। बाघले एउटा सिकार गर्नका लागि धेरै नै शक्ति खेल फाल्छ। बाघले अगाडिबाट अथवा पछाडिबाट आक्रमण गर्ने भन्ने विषय उसको आचरण भित्र पर्ने कुरा हो। कुनै पनि बिरालो प्रजातिका जनावरहरूको आक्रमण गर्ने छुट्टै आचरण हुन्छ। तर, अरूलाई आक्रमण गर्ने क्रममा ९० प्रतिशतसम्म बाघ फेल हुन्छ। अर्को कुरा बाघले मानिसलाई देखिहाल्ने बित्तिकै आक्रमण गर्ने भन्ने विषय पनि गलत हो। नजिकै जम्काभेट भइहाले डिफेन्सका लागि गर्ला, त्यो फरक कुरा हो। तर अलि टाढा देखियो भने उसले आक्रमण नगरी आफ्नै बाटोबाट निस्किएर जान्छ।
बाघले एक पटक आक्रमण गरेको कति दिनपछि फेरि आक्रमण वा सिकार गर्छ भन्ने ऋतुले पनि फरक पार्छ। चिसो समयमा एकै समयमा ४०–५० किलो नै मासु खाएर सुरक्षित स्थानमा बस्छ। सिकार पनि सुरक्षित गर्छ। एक हप्ताको लागि सुरक्षित ठाउँमा पनि राखेर फेरि आएर खाने गरेको हामीले पाएका छौँ। गर्मी सिजनमा भने मासु छिट्टै कुहिने गर्छ। कुहिएको मासुमा उसको खासै आकर्षण हुँदैन। बाघले जहिले पनि सिजन र आवश्यकता अनुसार मात्र सिकार गर्ने गर्दछ। पोथी बाघले बच्चाहरू हुर्काउने समयमा अलि बढी नै सिकार गर्ने सम्भावना हुन्छ। औसतमा बाघले एक पटक सिकार गरेको अवस्थामा चार पाँच दिनलाई पुग्ने भएको कारणले यस्तै अन्तरालमा बाघले सिकार गर्ने गरेको पाइन्छ।
संसारमा बाघका नौ प्रजाति थिए। त्यसमध्ये अहिलेसम्म तीन वटा प्रजाति लोप भइसकेका छन्। ६ वटा प्रजाति अहिले पनि छन्। जसमध्ये पनि सबैभन्दा बढी नेपालमा भएको बाघ हो। भाले बाघ र पोथी बाघको वजनको तुलना गर्ने हो भने पोथी बाघ भाले भन्दा झन्डै आधा कम हुन्छ। व्यवहारको हिसाबले पनि फरक हुन्छ। भालेले एउटा क्षेत्रफल नै ओगटेको हुन्छ। उसले आफ्नो क्षेत्रमा चार–पाँचभन्दा बढी पोथी बाघहरू हुन् भन्ने रुचाउँछ।
बाघको संरक्षण सरकारको प्राथमिकतामा रहेको छ। यस कारण १० देखि १५ वर्षको अवधिमा बाघको सङ्ख्या बढेर दोब्बर हुन पुगेको छ। बाघको सन्दर्भमा देखिएका चुनौतीहरूको सामना गर्दै नेपाललाई बाह्य पर्यटकको मुख्य गन्तव्य बनाउन सकिन्छ। यसका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू ल्याउनु आजको आवश्यकता हो। बाघ संरक्षणलाई आम्दानी र आर्थिक वृद्धिको क्षेत्रमा देशलाई योगदान दिने खालका कार्यक्रमहरू ल्याउनुपर्छ।