२०७२ सालमा मुलुकले नयाँ संविधान पाएपछि गाउँ गाउँमा सिंहदरबार पुग्ने आम जनताको आस थियो । परिवर्तनको सपना देखाएकाहरूको भाषण गुञ्जने सिंहदरबार जनताको मनमा भने अझै पुग्न सकेको छैन । व्यवस्था फेरेकाहरूले निमुखाको अवस्था फेर्न नसक्दा निम्न वर्गका नागरिकहरू अझै पनि छाक टार्नकै लागि ज्यानको बाजि लगाउनुपर्ने अवस्थामा छन् ।
बेलबारी ८ कि गोमा कोइराला उमेरले ६६ भइन् । ज्यानमा सुगर र प्रेसर अनि पोल्टामा केही थान ओखती बोकेर चाउरिएको ज्यामा अलिअलि बाँकी रहेको पाखुरीको बल निकाल्दै उनी दिनभर बेलबारी ८ कै सिंहदेवी सामुदायिक वनमा निगुरो संकलन गर्छिन् । जंगली जनावर र सर्पसँग अचेल उनलाई डर लाग्दैन । सायद जनावरले भन्दा बढी पीडा भोको पेटले दिँदो हो । बुढेसकालमा सकिनसकी संकलन गरेको निगुरो डोकोमा हालेर उनी जंगल नजिकै रहेको पूर्वपश्चिम लोकमार्ग पुग्छिन् । केही समय अघिसम्म लोकमार्ग छेउको रुखको छाहरीमा बस्ने उनी अहिले सडक बिस्तार हुने भएपछि चर्को घाममै उभिएर यात्रुहरूलाई २० रुपैयाँ मुठा निगुरो बेच्छिन् । सधैँ व्यापार भनेजस्तो हुँदैन । साँझ ३ देखि साढे ३ सय रुपैयाँ जम्मा गर्छीन र घर फर्कन्छिन् ।
औषधी उपचारकै लागि भए पनि निगुरो संकलन गरेर केही रकम आर्जन गर्नै पर्ने उनको बाध्यता हो । ६ वर्ष देखि निरन्तर निगुरो संकलन गर्दै आएकी उनी अझै २ वर्ष काम गर्न सके त्यसपछि सरकारले बृद्धभत्ता दिन्छ भन्ने आसमा छिन् ।
यता कानेपोखरी ५ का मानबहादुर मगर पनि बेलबारीकै चिसाङ खोला नजिकै पूर्वपश्चिम लोकमार्ग किनारमा मकै पोलेर बेच्छन् । जीवनको लामो समय सिकर्मीको काम गरेर गुजारा चलाएका मगर काम गर्दा समेत आफ्नो मिहेनतको कमाई ठेकेदारले नदिएपछि पेसा नै बदलेको बताउँछन् ।
कोरोना महामारीको पहिलो लकडाउन पश्चात् मकै पोल्न थालेका उनी दिन भरमा करिब ८ सय देखि एक हजार रुपैयाँसम्म कमाउँछन् । जसोतसो परिवार चलाउन र बालबच्चा पढाउन पुग्ने उनी बताउँछ ।
निर्वाचन ताका हात जोड्दै भोट माग्न आउनेहरूले काम परेर जाँदा आफूलाई चिन्न नै इन्कार गरेकोमा उनले दुखेसो पोखेका छन् । एक दिन काम नगरे खानै नपुग्ने अवस्थामा रहेकाहरूलाई राज्यले नहेरेकोमा उनले गुनासो सुनाए ।मगर र कोइराला समाजका ऐना हुन् । उनीहरूले आफूजस्तै लाखौँ नेपालीको कथा बोलेका छन् । समाजवादको सिद्धान्त बोकेर समृद्धि र सम्मुनतीको नारा दिनेहरूले जनताको आवाज बोल्ने सदनहरूमा उनीहरूको आवाज खै कहिले बोलिदिने हुन कुन्नि ।