काठमाडौँ।नेकपा एमालेका सांसद महेश बर्तौलाले बन मन्त्रालयसँग सम्बन्धित कानुनहरू जनमैत्री बनाउनुपर्ने बताएका छन्। 
बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विषयमा बन मन्त्रालयसँगको दफावार छलफलमा बोल्दै सांसद बर्तौलाले देशमा बनजंगलका कारणले अहिले पनि विकास, निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभाव पारिरहेको बताएका हुन्। 
उनले भने, ‘बनमन्त्रीज्यूसँग मेरो आग्रह छ, बनसँग सम्बन्धित धेरै कानुनहरू बनिरहेका छन्। जनमैत्री बनाउनुपर्छ। देशमा गणतन्त्र आएको भए पनि देशमा बनजंगलका कारणले अहिले पनि विकास निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभावहरू परेका छन्। यस्तो प्रभाव कम गर्न मध्यवर्तीको परिषभालाई समय अनुकूल बनाऊँ, संरक्षित क्षेत्रको परिभाषा व्यवस्थित गरौँ। बनसँग सम्बन्धित कानुनहरूमा संरक्षित क्षेत्रहरूलाई परिभाषित गरिएका छैनन्।’
बनेका कानुनहरूको कार्यान्वयनको पक्ष फितलो भएका कारण सांसदहरूले गाली खानुपरेको बर्तौलाको भनाइ छ।
उनले जनमैत्री कानुन बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यतामा समितिहरूले काम गर्नुपर्ने बाध्यता रहेको बताए। 
‘नेपालको कानुन निर्माणको आजसम्मको प्रक्रियामा देखिएको सबैभन्दा डरलाग्दो खतरनाक पक्ष सही कार्यान्वयन भएन भने सांसदले गाली खानुपर्दछ। आज पनि हामी कसरी जनमैत्री कानुन बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यता छ। मन्त्रालयबाट लिने सुझाव सल्लाह त लिन्छौँ नै तर यसको निर्णायक क्षेत्र त्यो होइन। हामी हौँ ,’ उनको भनाइ छ।