संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरुको विवरण सङ्कलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्।
सोमबार बसेको सरकारी छानबिन विशेष समितिको बैठकपश्चात् उनले स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी रहेकोमा समस्याग्रस्त सहकारी स्थानीय तहमा नरहेको बताए।
उनले भने,‘देशभरको सहकारीको तस्बिर थाहा होस भनेर ७ सय ५३ वटै पालिका र सात वटै प्रदेशको क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीहरुको बारेमा विवरण सङ्कलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएका छौ। स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी छन्, तर समस्याग्रस्त सहकारी स्थानीय तहमा छैन।’
सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यताका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुने उनको भनाई छ।
उनले भने,‘समग्र अवस्था हेर्दा सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यता आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारीलाई जोड गर्ने र त्यसका लागि कानुन बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुन्छ।’