बेलबारी : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको कोशी प्रदेश कमिटीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। आफ्नो ३५औँ वार्षिकोत्सवको अवसरमा कमिटीले मोरङको बेलबारी नगरपालिका ३ स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।
शैक्षिक सामग्री वितरणका लागि विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका पूर्वकेन्द्रीय समिति अध्यक्ष हेमराज सुवेदीले विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग जस्ता रचनात्मक कार्यक्रमहरूले सङ्घको साख बढाउने बताए। सङ्घ राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीको ट्रेड युनियनका रूपमा २०४७ सालदेखि क्रियाशील रहेको बताउँदै उनले यसले बैंकका नीति निर्माण तथा सुव्यवस्थित सञ्चालन र प्रगति हासिल गर्ने कार्यमा कर्मचारीका तर्फबाट भूमिका खेल्ने उल्लेख गरे।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले विपन्न वर्गका बालबालिका पढ्ने विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेकोमा सङ्घलाई धन्यवाद दिए। सरकारी विद्यालय भए पनि निजी क्षेत्रका विभिन्न दाताहरूबाट पनि विद्यालयले सहयोग पाइरहेको बताउँदै उनले स्थानीय सरकारले पनि शैक्षिक क्षेत्रको उन्नयनमा जोड दिइरहेको उल्लेख गरे। जनप्रतिनिधिका रूपमा विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विस्तारका लागि वडा कार्यालयमार्फत आफूले पनि काम गरिरहेको उनको भनाइ थियो।
सङ्घले ८० थान ब्याग तथा कापी, कलमजस्ता शैक्षिक सामग्री गरी ५० हजार रुपियाँ बराबरको सहयोग वितरण गरेको विद्यालयका प्रधानाध्यापक लिला प्रसाद आचार्यले जानकारी दिए।
सामाजिक व्यक्तित्व गोविन्दराज लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घका कोशी प्रदेश अध्यक्ष कृष्ण बराल, सोही बैंकका बेलबारी शाखा प्रमुख ज्योति दाहाल, पथरी शाखा प्रमुख रोशन सुवेदी, बेलबारी ३ का वडा सदस्य त्रय भोगेन्द्र राई, चन्द्रबहादुर राई र विमला तामाङ, बिजुली मालपोत टोल विकास संस्थाका अध्यक्ष चुडामणि अधिकारी लगायतको उपस्थिति रहेको थियो।