बेलबारी । जननायक बिपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसर पारी नेपाल विद्यार्थी संघ बेलबारी नगर कार्यसमितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

आज आइतबार बेलबारी ३, पश्चिम बस स्टेण्डमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ने.वि.संघ बेलबारीले बिपीले नेपाली समाज परिवर्तन गर्न पुर्याएको योगदानको स्मरणसमेत गरेको आयोजक कमिटीले जनाएको छ ।

रक्तदान कार्यक्रममा सहभागी भएका बेलबारी २ का राजु परियारले आफूले ५१ औँ पटक रक्तदान गरेको बताए । वि.सं २०६२ सालबाट नियमित रक्तदान गर्दै आएका परियार रक्तदान गर्दा मानव शरीरलाई कुनै नोक्सानी नहुने बताउँछन् । रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।02

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस महासमिति सदस्य वसन्त भट्टराईले बिपीले बीजारोपण गरेको पथमा नेपाली जनता र नेपाली काँग्रेस हातेमालो गरेर अघि बढिरहेको जिकिर गरे । उनले बिपीले आफ्नो जीवनकालमा साहित्य क्षेत्रमा पुर्याएको योगदानको समेत स्मरण गर्दै कोइराला प्रजातन्त्रको विम्ब हो भन्ने कुरा भुल्न नहुने उल्लेख गरे । 04

नेपाल विद्यार्थी संघ नेपाली कांग्रसको भातृ संगठन हो र यसले फोहोरी राजनीतिलाई प्रोत्साहन गर्ने काम मात्र गर्छ भन्ने भ्रम हटाउन बिपी स्मृति दिवसको अवसर पारेर यस किसिमको रचनात्मक तथा परोपकारी कार्यक्रम आयोजना गरिएको ने.वि.संघ बेलबारीका सभापति सुजन अधिकारी बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६५ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।