सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्रकार सम्मेलनको आयोजना गर्दै विकास निर्माण निर्देशनालयले गरेका कामहरूको प्रगतिबारे जानकारी दिएको हो।
सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्रीले बताए।
सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ। सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ। सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ।
सेनाले तराई-मधेश द्रुतमार्ग निर्माणको ट्रयाक खोल्ने काम पूरा भएको जनाएको छ। सेनाले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको काम २०७४ बैशाख २१ गते जिम्मा लिएको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको फोटोहरु संलग्न गरि प्रगति विवरण जानकारी गराएको छ।
त्यस्तै सेनाले काठमाडौं–तराई-मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति ३५.३८ प्रतिशत सकिएको जनाएको छ।
२०८१ असार मसान्तसम्मको दु्रतमार्गको ३८.३८ प्रतिशत भौतिक प्रगति र वित्तिय प्रगति मोबिलाइजेसनसहित ३६.६६ प्रतिशत रहेको जनाएको हो।
आयोजनाको समष्टिगत कार्य योजना मुताविकका १३ वटा निर्माण प्याकेजहरु मध्ये द्रुतमार्गको ६.५ किलोमिटर देखि ७०.९७ किलोमिटर सम्मका प्याकेज नं १ देखि ७, ८, ८ख, ९क, ९ख र १० गरी १२ वटा प्याकेजहरु निर्माणाधीन तथा कार्यान्वयनमा रहेको सेनाले जनाएको छ।
त्यसैगरी, खरिद प्रक्रिया बाँकी रहेको प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना इलाकाको ० कि.मि. देखि ६.५ कि.मि.मा द्रुतमार्गको शुरु बिन्दु निर्धारण गरि सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधान गर्दै खरिद प्रक्रिया शुरु गर्ने तयारीमा रहेको भनाइ सेनाको छ।
आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सेनाको दाबी छ। ललितपुरको खोकना प्रस्तान विन्दु रहेको आयोजना निजगढ अन्तिम विन्दु मानिएको छ।
सुरुङ निर्माण धमाधम
परिमार्जित डीपीआर बमोजिम आयोजना अन्तर्गत रहेका ६ वटा सुरुङ्गहरु मध्ये हालसम्म तीन वटा सुरुङहरु निर्माणाधीन रहेका छन् भने अन्य तीनवटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको सेनाले जनाएको छ।
निर्माणाधीन निजगढ–काठमाण्डौ तर्फको महादेवटार सुरुङ्गको जम्मा लम्बाइ ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ भने काठमाण्डौ निजगढ तर्फको जम्मा लम्बाइ ३.३८६ किलोमिटर सुरुङ्गको २.२८८ किलोमिटर खन्ने कार्य सम्पन्न भई करिव एक किलोमिटर खण्ड बाँकी रहेको छ।
उक्त सुरुङ्ग खन्ने कार्य यस बर्ष भित्र नै सम्पन्न गर्नेगरी रात्रीकालीन समयमा समेत कार्य भइरहेको सेनाले जनाएको छ।
हालसम्म निर्माणाधीन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.६६९ किलोमिटर मध्ये ५.५२८ किलोमिटर अर्थात ८२.८९ प्रतिशत सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको बताइएको छ।
आयोजना अन्तर्गत रहेका ८९ पुलमध्ये चारवटा पुल रहेको स्थानमा जग्गा अधिग्रहणमा समस्या रहेको नेपाली सेनाका सहायक रथी विकास पोखरेलले जानकारी दिए। विशेषगरी खोकना क्षेत्रमा जग्गा सम्बन्धी समस्या रहेको उनले बताए।
आयोजना अन्तर्गत कुल अधिग्रहणका लागि आवश्यक १७ हजार ६५१ रोपनी जग्गामध्ये ५ हजार २०४ रोपनी जग्गा व्यक्तिगत रहेकोमा ३९४ रोपनी अधिग्रहण गर्न बाँकी रहेको पोखरेलले जानकारी दिए। अधिग्रहण हुन बाँकी खोकना–बुङ्गमति क्षेत्रलगायतमा मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी १६५ रोपनीसहित ३७१ रोपनी रहेको छ। काठमाडौं ४ र मकवानपुरमा १६ रोपनी जग्गा अझै अधिग्रहण बाँकी छ।