चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको धर्ना कार्यक्रममा बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ।
शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा निरन्तर चलेको धर्ना कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाउने जानकारी दिएको हो। साथै आन्दोलनमा सहभागीका लागि आव्हान समेत गरेको हो।
‘बृहत नागरिक आन्दोलन, धर्नारत टोलीसँग अविलम्ब वार्ता गरेर चुरे संरक्षणका मागहरु पूरा गर्न जोडदार माग गर्दछ। चुरे संरक्षणको यस अभियानमा ऐक्यबद्धता जनाउन आयोजना गरिएको माइतीघर–नयाँ बानेश्वर चुरे संरक्षण मार्चमा सहभागी हार्दिक अनुरोध गर्दछ ’विज्ञप्तिमा भनिएको छ।
टोलीले चुरे र वनजंगल संरक्षण, सम्वर्धन, दलित, भूमिहीन, सुकुमवासीहरुको भूमि अधिकारका माग सहित २४ दिने चुरे संरक्षण पदयात्रा सम्पन्न गरिसकेको छ। पदयात्रा पश्चात टोलीले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्।
नागरिक आन्दोलनले भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक विनाश भएकोमा चिन्ता समेत व्यक्त गरेको छ।
विज्ञप्तिमा लेखिएको छ,‘चुरे क्षेत्रले चुरे–तराई, मधेश क्षेत्रमा बसोबास गरेका नेपालको आधाभन्दा बढी जनसंख्या तथा नेपालको दक्षिण सिमानासँग जोडिएको छिमेकी मुलुकको बहुसंख्यक जनताको जीवनरेखाको रुपमा काम गरेको छ। भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएकोछ। चुरेका खोला–नदीबाट बालुवा, ढुङ्गा, गिट्टी अत्यधिक र अवैज्ञानिक किसिमले सङ्कलन हुँदा तराईको जमीन झन् झन् कटान र बाढीको चपेटामा परेको छ। चुरेको क्रमिक विनाशले तल्लो तटीय क्षेत्रमा यसले विपद जोखिम र त्रास बढ्न थालेको छ।’