आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन्।
प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन्।
आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको छ। सयौँ मानिस घाइते भएका छन्।
देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ।
आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ। प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन्।
गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो। अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो।