धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ९हर्क साम्पाङं० का समर्थकले अस्पतालमै अराजकता मच्चाएका छन् ।
उनीहरूले कुनै बेला हर्ककै समर्थक रहेकी सञ्चारकर्मी सञ्जिता धमलालाई अस्पतालमै छिरेर कुटपिट गरेका हुन् । उक्त प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
सञ्जिताले बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै आफूलाई कुटपिट गरिएको बताएकी छन्। उनलाई कुटपिटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
सञ्जिताले धरानका मेयर साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको बताएकी छन्। प्रहरीले पनि साम्पाङ समर्थकले कुटपिट गरेको बताएको छ।
केही सातायता मेयर साम्पाङ र सञ्जिताबीच विवाद छ। मेयर साम्पाङले महिलाहरूलाई सञ्चिताविरुद्ध आन्दोलन गर्न उकासेका छन्।
पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ। उनीहरूमाथि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी नवीनकृष्ण भण्डारीले बताए।
सञ्जिता बुधबार उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्।
प्रहरीले पक्राउ गरेका महिलाबारे जानकारी नदिएपछि भिडले इलाका प्रहरी कार्यालयको गेट जबरजस्ती खोलेर भित्र छिर्ने कोसिस गरेको थियो। प्रहरीले पक्राउ परेका ५ जनालाई सिधै जिल्ला पठाएको जानकारी दिएको थियो। त्यसपछि आक्रोशित भिड भानुचोक पुगेर चक्काजाममा उत्रियो। आधाघण्टा भानुचोकमा यातायात रोकेपछि कोणसभा गरियो। पक्राउ परेकालाई बिनासर्त रिहा नगरे उनीहरूले बिहीबारदेखि आन्दोलनको चेतावनी दिएका थिए।
केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी धमलाले धरानका जनप्रतिनिधिहरूले घुस खाने गरेको भन्दै प्रश्न उठाएकी थिइन्।
उनले प्रश्न गरेपछि मेयर साम्पाङले धमलालाई कार्यालयमा बोलाएर पक्राउ गर्न निर्देशन दिएका थिए। उनलाई साम्पाङको कार्यालयमै नगर प्रहरीले लछारपछार गरेको थियो।
सञ्जितालाई कारबाही नभएको भन्दै मेयर साम्पाङले गृह मन्त्रालयमा पत्र पठाएका थिए। सञ्जिताले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन्।