नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन्।

उनीहरु दुबैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो। जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ। ८ शवको सनाखत हुन बाँकी छ।

भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन्। सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन्।

१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन्। असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ। अझै ४५ यात्रुको अवस्था अज्ञात छ।