बेलबारी : मोरङको विराटनगरस्थित डिभिजन वन कार्यालयले जिल्लाभरका उत्कृष्ट सामुदायिक तथा निजी वनहरूलाई पुरस्कृत गरेको छ। हिजो सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी कार्यालयले जिल्लाका विभिन्न पालिकामा सञ्चालित चार सामुदायिक वनहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको हो। पुरस्कृत हुने सामुदायिक वनहरूमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा पहिलो स्थान प्राप्त गर्ने लेटाङ नगरपालिका ९ स्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समिति, दोस्रो स्थान प्राप्त गर्ने बेलबारी नगरपालिका १ मा सञ्चालित नक्सल सामुदायिक वन उपभोक्ता समिति र तेस्रो स्थान प्राप्त गर्ने बेलबारी नगरपालिका ८ मा सञ्चालित सिंहदेवी सामुदायिक वन उपभोक्ता समिति तथा सुन्दरहरैँचा नगरपालिका ८ मा सञ्चालित सलकपुर सामुदायिक वन उपभोक्ता समिति रहेको मोरङका जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए। यसैगरी, निजी वन सञ्चालकहरूमध्ये मिक्लाजुङका सन्तोष लामाले पहिलो, ग्रामथानकी ईश्वरी थारुले दोस्रो तथा उर्लाबारीका सूर्यबहादुर रायमाझी, प्रेमप्रसाद रायमाझी र गोपाल बहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गर्दै पुरस्कृत भए। पहिलो, दोस्रो र तेस्रो हुने निजी तथा सामुदायिक वनहरूले पाँँच हजार, चार हजार र तीन हजार रुपियाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्राप्त गरे। यसका साथै, डिभिजन वन कार्यालय र मातहतका अन्य वन कार्यालयमा कार्यरत वन अधिकृत, वन रक्षक, वन सामाजिक परिचालकलगायत १३ जना कर्मचारीलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको थियो।
सम्मानित कर्मचारीमध्ये डिभिजन वन कार्यालय मोरङमा कार्यरत वन अधिकृत रामलखन ठाकुर, सबडिभिजन वन कार्यालय कानेपोखरीमा कार्यरत वन अधिकृत मोहम्मद अल्लाउद्दिन मियाँ, सब डिभिजन वन कार्यालय रङ्गेलीमा कार्यरत फरेस्टर धनोजकुमार यादव, सब डिभिजन वन कार्यालय विराटनगरमा कार्यरत वन रक्षक गणेशकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। यसैगरी सब डिभिजन वन कार्यालय लेटाङमा कार्यरत वन रक्षक विनोद भट्टराई, सब डिभिजन वन कार्यालय लाटीझोडामा कार्यरत वन रक्षक दुर्गा घिमिरे, सबडिभिजन वन कार्यालय केराबारीमा कार्यरत वन रक्षक रमेशकुमार राई र लेटाङको किर्तिमान सामुदायिक वन उपभोक्ता समितिकी सचिव कुमारी बानियाँलाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान सम्मान गरिएको थियो। यस्तै, सब डिभिजन वन कार्यालय विराटनगरका नर्सरी नाइके मनोज मण्डल र सोही कार्यालयका वन सामाजिक परिचालकहरू वीरेन्द्र विश्वास, राजेन्द्रप्रसाद मण्डल र लिला सरदार तथा सब डिभिजन वन कार्यालय रङ्गेलीकी वन सामाजिक परिचालक लक्ष्मी बराललाई भने प्रशंसापत्रका साथमा जनही एक हजार पाँच सय रुपियाँ नगदसहित सम्मान गरिएको थियो।
यसैबीच, सोही कार्यक्रममा डिभिजन वन कार्यालयको गत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रगतिबारे समीक्षासमेत गरिएको सो कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख विष्णुलाल घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कोशी प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा. इन्द्र सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।