काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठुलो असर परेको बताएका छन्। 

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेगरी काम गर्ने बताएका हुन्। 

उनले भने, ‘पर्यटन क्षेत्रले कोभिडको महामारी खेप्नुपर्यो। यो क्षेत्रमा परेको कोभिडको असरलाई घटाएर पर्यटन क्षेत्रलाई फेरि राम्रोसँग सूचारू गर्नुपर्ने छ। संघीयता अनुकुल पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि पर्यटन नीति सुधारका लागि अध्ययन गर्नेछौं।’ 

मन्त्री पाण्डेले पर्यटन नीति–२०६५ लाई संघीयता अनुकुल बनाउन परिवर्तन गर्ने पहिलो निर्णय समेत गरेका छन्।  

उनले अबको पर्यटन नीतिमा अध्ययन गरेर यस क्षेत्रलाई सुधार गर्दै निष्ठाका साथ पर्यटन क्षेत्रका समस्या चिर्दै अगाडि बढ्ने बताए। मन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेर कांग्रेसबाट सरकारमा गएका हुन्।

कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डेले वाजुराबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। पाण्डे ०७० मा तत्कालीन संविधान सभा सदस्य तथा २०७४ मा राष्ट्रिय सभा सदस्य थिए।