काठमाडौं। कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए। उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे।
उनले भने,‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु। म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु। मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन। ’
साथै उनले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताए। उनले यो आन्दोलनलाइ अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटो भन्दा छिटो समस्या समाधान गर्ने बताए।
२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन्। पार्टीको मूल राजनीतिबाटै उदाएका उनी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी भएका थिए। उनी गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे।
२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित उनी पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए।
उनी यसअघि दुई पटकसम्म जिल्ला सभापति भएका थिए। लगातार दुई पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उनले एक कार्यकाल सभापति छाडेका थिए।
२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित भएका उनले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन्। २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए। यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल भएका हुन्।