कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूले बिक्री गरेको दूधको भुक्तानी नपाएको गुनासो गरेपछि विराटनगर दुग्ध वितरण आयोजनाका कर्मचारीलाई कार्यालयमा बोलाएर छलफल गरेका छन्।

शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र केही कर्मचारीहरूलाई कार्यालयमा बोलाएर बक्यौता भुक्तानीका लागि छलफल गरेका हुन्।

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न निर्देशन दिएको उनले बताए।

किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्ण रुपमा सञ्चालन तथा बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताएका छन्।

विराटनगर दुग्ध वितरण आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, सप्तरीलगायत जिल्लाका किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीले बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले घाटा भएको बताएका छन्।