सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नै कार्यकक्षमा बोलाएर पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलालाई अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको छ।

असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाई कार्यक्रममा आफूअनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए।

सो क्रममा नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटकसमेत लागेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ।