मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा एक पुरुषको शव भेटिएको छ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

डीएसपी बस्न‍ेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन्। घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज बिहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्‍नेतले बताएका छन्।

प्रहरीका अनुसार घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको छ।

बजगाईंको खुकुरा फार्ममा काम गर्न एक दम्पती बसेका थिए। घटनापछि दुई जना फरार रहेको प्रहरीले जनाएको छ। हत्या फर्मभित्रै भएको र काम गर्ने व्यक्ति पनि फरार रहेका कारण हत्यामा कामदारको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ।

हत्यामा संलग्नको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।