माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्राविधिक धारतर्फको केही विद्यालयको नतिजा अझै सार्वजनिक भएको छैन।

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा १३ असारमा सार्वजनिक गरेको थियो। तर सुनसरी जिल्लाको १० वटा विद्यालयका २६६ जना विद्यार्थीको नतिजा आजसम्म पनि सार्वजनिक भएको छैन।

धरानको पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवद्धि परीक्षा तालिकासमेत सार्वजनिक गरिसक्दा पनि नतिजा हेर्न नपाउँदा विद्यार्थी, अभिभावक, शिक्षक सबलाई मानसिक तनाव भएको बताएका छन्।

उनले भने, ‘सामान्यतर्फको नतिजा आएको दुई हप्ता भइसक्यो। सुनसरीका प्राविधिक धारका विद्यालयको अझै आएको छैन। यसले हामीलाई अन्योल मात्र बनाएको छैन, मानसिक तनाव पनि भइरहेको छ।’शिक्षा समन्वय एकाइमा नतिजाबारे बुझ्दा स्पष्ट जवाफ पाउन नसकेको उनले गुनासो गरे।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले भने विषय कोड फरक पर्न गएर समस्या आएको जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘विषय कोड फरक परेकाले केही विद्यालयको नतिजा रोकिएको थियो अब मिलिसक्यो। हामीले इन्ट्री गरिसकेका छौं। बोर्डले निर्णय गरेपछि नतिजा सार्वजनिक गर्छौं।’

उनले नतिजा हराएकाको लागि भनेर १५ दिने सूचना निकालेर काम गरिरहेको र यही बीचमा सबैको नतिजा सार्वजनिक भइसक्ने बताएका छन्।