शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन्।
शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन्।
‘मैले १२० दिनमा थाहा पाएको( हामीले के भाष्य निर्माण गरेका छौं भने, गरिबका छोराछोरी सामुदायिक विद्यालयमा जान्छन्, धनीका निजीमा। तर, त्यो होइन रहेछ,’ उनी भन्छिन्, ‘हामीजस्ता नेताका, पहुँच पुगेका मान्छेका छोराछोरी निजीमा जान्छन्। पहुँच नभएका, जनप्रतिनिधि वा ठूलो पद नओगटेका, आफ्नो नामको अगाडि माननीय नभएकाहरूका छोराछोरी सामुदायिकमा जान्छन्। भाष्य करेक्ट गरौं।’
नेपालमा २० प्रतिशत जति गरिब रहेको सरकारी तथ्यांक भएको तर सामुदायिक विद्यालयमा ७० प्रतिशत विद्यार्थी पढ्ने गरेको मन्त्री श्रेष्ठले बताइन्। उनले थपिन्, ‘यसकारण गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन।’