बेलबारी । मोरङको बेलबारी नगरपालिका ३ स्थित गुरुकुल पाठशालामा सात दिने रोबोटिक कार्यशाला सम्पन्न भएको छ । पाँच ओटा समूहमा २५ जना विद्यार्थी सहभागी गराई दैनिक दुई घण्टासम्म विभिन्न रोबोटिक अभ्यास गराइएको कार्यशाला आज मङ्गलबार औपचारिक समारोहबीच सम्पन्न भएको हो ।

कार्यशाला समापन समारोहलाई सम्बोधन गर्दै पाठशालाका सञ्चालक समिति अध्यक्ष माधवराज थापाले वर्तमान समय विज्ञान र प्रविधिको जमाना भएकाले रोबोटिक्स विधाका जानकार अनिल कार्कीमार्फत् एसईई दिएर बसेका सात विद्यालयका विद्यार्थीलाई रोबोटिक प्रशिक्षण दिइएको बताए । विभिन्न देशमा रोबोर्टका माध्यमबाट कृषि, उद्योगजस्ता क्षेत्रका कार्यसम्पादन भइरहेको र नेपालमै पनि यसको सुरुवात भइसकेको स्मरण गर्दै उनले सानै कक्षादेखि यो विधामा विद्यार्थीको रुची जगाउन आफ्नो विद्यालयले वातावरण प्रदान गर्ने उल्लेख गरे । नगरपालिकाबाट पनि यस अभियानमा सहयोग हुन सके राम्रो प्रतिफल आउन सक्ने उनको भनाइ थियो ।
यसैगरी, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले नियमित कामलाई फरक ढङ्गले गर्न सक्ने व्यक्तिले सफलता पाउने बताउँदै विद्यार्थीलाई नवप्रवर्तनात्मक काममा सहभागी हुने अवसर दिएकोमा विद्यालयलाई धन्यवाद दिए । औषधि नभएको कुनै रोग नहुने नीतिशास्त्रीय दृष्टान्त दिँदै उनले त्यस्तो औषधि निर्माण गर्ने क्षमताका लागि भने अभ्यास र लगनशीलता आवश्यक पर्ने उल्लेख गरे । विभिन्न प्रलोभन दिई विद्यार्थी आकर्षित गर्ने प्रवृत्तिबीच गुरुकुलले जीवनोपयोगी सीपका माध्यमबाट विद्यार्थीलाई आकर्षित गर्न सफल भएकोमा कोइरालाले खुसी व्यक्त गरे ।g02
यसैगरी, एन प्याब्सनका सङ्घीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले रोबोटिक प्रतिस्पर्धामा विद्यार्थीको सहभागिता राम्रो सुरुवात भएको र यसले सफलता इङ्गित गरेको बताए । गुरुकुल पाठशाला एन प्याब्सनमा आबद्ध विद्यालय भएको र यहाँका विद्यार्थीले विभिन्न विधाका प्रतिस्पर्धामा सफल उपस्थिति देखाएको उनको भनाइ थियो ।
यसैगरी, बेलबारी नगर प्याब्सनका अध्यक्ष तथा बालजगत इङ्ग्लिस स्कुलका सञ्चालक भगवतीप्रसाद घिमिरेले १४ घण्टाको अवधिमा विद्यार्थीले आर्जन गरेको प्राविधिक सीप प्रतिस्पर्धामा उनीहरूले प्राप्त गरेको हार र जितको नतिजाभन्दा बढी महत्वपूर्ण रहेको बताए । बेलबारीको विद्यालयमा विज्ञान प्रविधिसँग सम्बन्धित नयाँ प्रयोग सुरु हुनु र बेलबारीकै प्रशिक्षकले प्रशिक्षण दिनु सुखद संयोग रहेको बताउँदै उनले यसले बेलबारी विज्ञान त प्रविधिको क्षेत्रमा समृद्ध रहेको तथ्य प्रतिबिम्बित भएको धारणा राखे ।
्यसैगरी, प्रशिक्षण कार्यशालामा सहभागी विद्यार्थी सुरक्षा सुवेदीले रोबोटिक्स विधामा आफूले सानैदेखि रुची राख्दै बताउँदै कोशी प्रदेशमै नौलो कार्यक्रमका रूपमा आफूले गुरुकुल पाठशालाले आयोजना गरेको यो कार्यशालामा सहभागी हुन पाउनु सुखद् अनुभव रहेको बताइन् । यहाँबाट सिकेको सीपका आधारमा बेलबारी नगरकै हितमा काम गर्न आफूलाई प्रेरणा प्राप्त भएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले सबै कुराको सुव्यवस्थित वा प्रणालीगत ज्ञान नै विज्ञानको परिभाषा रहेको बताउँदै विज्ञान दैनिक जीवनका सबै पक्षमा पाइने भएकाले यो कहिल्यै नमर्ने उल्लेख गरे । मानवजातिका पुर्खाले ज्यानको बाजी लगाएर खानयोग्य र अयोग्य वस्तु पत्ता लगाएको स्मरण गर्दै उनले अहिले विज्ञानका कारणले त्यस्तो विषय पत्ता लगाउन प्रविधिको प्रयोग गर्न सम्भव भएको बताए । विज्ञानका आविष्कारमा नवीनता थप्नका लागि दिमागको प्रयोग गर्न अपिल गर्दै नगरप्रमुख राईले नयाँ कुरा सिक्ने चिन्तनका साथै देशलाई केही न केही दिनुपर्छ भन्ने भावना राख्न विद्यार्थीलाई सुझाव दिए ।
यसैबीच, यस वर्षदेखि कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा अध्यापन सुरु गर्ने उद्देश्यले विद्यार्थी भर्ना अभियानसमेत प्रारम्भ गरिएको गुरुकुल पाठशालाले जनाएको छ ।