बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित गुरुकुल पाठशालामा कक्षा ११ मा नयाँ भर्ना खुला गरिएको छ।

विज्ञान र व्यवस्थापन सङ्कायमा भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक कुमार खुलालले जानकारी दिए। उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा गुरुकुलमा अध्ययन गर्न पाउनेछन्। उनले दुवै सङ्कायका कक्षा सञ्चालनका लागि दक्ष तथा अनुभवी शिक्षकहरूको समूह छनौट गरिसकिएको बताए। अब विज्ञान र व्यवस्थापन विषय पढ्न विद्यार्थी अन्यत्र जान नपर्ने उनको भनाइ छ। विद्यालयले कक्षा ११ का दुवै सङ्कायमा भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई २५ प्रतिशत छुट दिइने र प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विशेष छुटको व्यवस्था गरिने उनी बताउँछन्।

विज्ञान सङ्कायका कक्षा सञ्चालनका लागि रसाायन विज्ञान, जीव विज्ञानजस्ता विधाका प्रयोगशालाको व्यवस्था गरिसकिएको बताउँदै विद्यालयका सञ्चालक समिति अध्यक्ष माधवराज थापाले बेलबारीका विद्यार्थीका लागि आवश्यक पर्ने सबै शैक्षिक पूर्वाधारको व्यवस्था आफूहरूले मिलाउने उल्लेख गरे।

२०७५ सालमा स्थापित यस विद्यालयले प्रारम्भमा ६ कक्षासम्म पठनपाठन गर्ने गरेकोमा यस वर्ष भने कक्षा ११ मा पनि भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक कुमार खुलालले जानकारी दिए। विद्यालयले छोटो समयमै विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल हुनु गर्वको विषय भएको बताउने खुलालका भनाइमा बेलबारीका सबै ११ वटा वडाका साथै छिमेकी पालिकाहरू सुन्दरहरैँचा, लेटाङ र केराबारीका विद्यार्थीहरूले यस विद्यालयमार्फत् आफ्नै गाउँघरमा गुणस्तरीय शिक्षा पाएपछि शिक्षाका लागि सङ्घीय राजधानी काठमाडौँजस्ता ठूला शहरमा भौँतारिनुपर्ने बाध्यता हटेको छ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष माधवराज थापा आफ्नो टिमले नवीनतम आधुनिक प्रविधियुक्त कार्यक्रमसहित बालबालिकाको सर्वाङ्गीण विकासका लागि पर्याप्त पूर्वाधार सहितको विद्यालय सञ्चालन गरिरहेको बताउँछन्। बेलबारीलाई पूर्वी नेपालको उत्कृष्ट शैक्षिक हब बनाउने आफ्नो लक्ष्य सहजै पूरा हुने उनको विश्वास छ।

बेलबारीसहित चार ओटा पालिकाका विद्यार्थी अध्ययनरत गुरुकुल पाठशालामा विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र लैजानका लागि चार ओटा बस र एउटा भ्यानको व्यवस्था रहेको विद्यालय प्रशासन बताउँछ। यसका अतिरिक्त विद्यार्थीलाई तेक्वान्दो, कराते, फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, टेबलटेनिसजस्ता खेलको अभ्यास गर्ने तथा विभिन्न प्रतियोगितामा भाग लिने अवसर पनि विद्यालयले प्रदान गर्दै आएको बताउँदै प्रधानाध्यापक खुलालले विज्ञानका प्रयोगात्मक प्रदर्शनी तथा नृत्य र चित्रकलाजस्ता विधामा आफ्नो विद्यालयका विद्यार्थीले जिल्लामै प्रथम स्थानसम्म हासिल गरेको स्मरण गरे। उनका अनुसार गर्मी याममा विद्यार्थीलाई मानसिक तनाव र थकान कम गर्न विद्यालयले स्विमिङ (पौडी) को प्रतिस्पर्धात्मक कार्यक्रममा पनि सहभागी गराउँदै आएको छ। पाठ्यक्रमको कोरा अध्ययनले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव नहुने भएकाले खेलकुद गतिविधिका साथै गायन, नृत्य, चित्रकलाजस्ता सिर्जनात्मक कलाको अभ्यास तथा प्रदर्शनका माध्यमबाट विद्यार्थीको प्रतिभालाई प्रष्फुटित गराउन विद्यालयले नै मञ्च प्रदान गर्दै आएको छ। विद्यार्थीलाई शारीरिक तन्दुरुस्ती तथा मानसिक कुशलताले सम्पन्न बनाई सबल, सक्षम र प्रतिस्पर्धी जनशक्तिका रूपमा बजारमा उतार्ने आफ्नो उत्तरदायित्व पूरा गर्न विद्यालय प्रशासन प्रतिबद्धताका साथ कृयाशील रहेको प्रधानाध्यापक खुलालको भनाइ छ।

सैद्धान्तिक शिक्षाले मात्र जीवनलाई गति दिन नसक्ने तथ्यसँग परिचित रहेको गुरुकुल पाठशालाले आफ्ना विद्यार्थीलाई अनुसन्धान र नवप्रवर्तन (रिसर्च एन्ड इनोभेसन) का सीपहरू पनि प्रदान गर्दै आएको छ। अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा जनशक्तिको अभाव रहेको हुँदा त्यस्ता सीपयुक्त जनशक्ति निर्माण गर्ने र देशको पहिचान प्रवद्र्धन गर्ने उद्धेश्यले नवप्रवर्तनात्मक गतिविधिमा पनि विद्यार्थी सहभागी गराउने गरिएको प्रधानाध्यापक खुलालले बताए। यसका साथै विद्यार्थीको जागिर खोज्ने परनिर्भर प्रवृत्ति नियन्त्रण गर्दै उनीहरूलाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालयले उद्यमशीलतायुक्त सीपमूलक प्रशिक्षणसमेत दिने गरेको खुलालले उल्लेख गरे। उनका अनुसार विभिन्न कृषिजन्य बाली लगाउने र हेरचाह गर्नेजस्ता विविध सीपहरू सिकाई विद्यालयले विद्यार्थीलाई स्वाबलम्बी बनाउने गरी जीवनोपयोगी शिक्षा दिइरहेको छ।

विद्यार्थीलाई विश्वका नवीनतम प्रविधि तथा भाषिक सीपसँग साक्षात्कार गराई विश्व नागरिकका रूपमा स्थापित गर्नका लागि विद्यालयले कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को कक्षा पनि दिइरहेको छ। यसका अतिरिक्त कक्षा ९ र १० का विद्यार्थीलाई थप अध्ययनका लागि विदेश जान सजिलो हुनेगरी अङ्ग्रेजी भाषा परीक्षाको शैक्षिक कार्यक्रम टोफेल (टेस्ट अफ इङ्लिस एज अ फरेन ल्याङ्ग्वेज) को प्रारम्भिक अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ। यसले विदेश जान चाहने विद्यार्थीलाई भाषा परीक्षाको प्रारम्भिक जानकारी दिई अन्योल हटाउन मद्दत गर्ने विद्यालयको विश्वास छ।

प्रविधिको प्रयोग बढाई शिक्षालाई सरल र बोधगम्य बनाउने प्रयासस्वरूप गुरुकुल पाठशालाले स्मार्ट इन्टरएक्टिभ बोर्ड प्रयोगमा ल्याएको छ भने विद्यालयको शुलक भुक्तानी, नतिजा प्रकाशन, विद्यार्थीको हाजिरी अभिलेख तथा गुनासो व्यवस्थापनका लागि मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ। सो एपबाट तत्कालै आवश्यक सूचना र सेवा विद्यार्थी र अभिभावकले पाउन सक्ने प्रबन्ध गरिएको विद्यालयको भनाइ छ। यसैगरी, विद्यालय हाताभित्र सीसी टीभी जडान गरी विद्यार्थीको आवागमनको निगरानी राख्ने गरिएको विद्यालय छ। विद्यालयमा विद्यार्थीको सुविधाका लागि सुविधासम्पन्न चमेनागृह सञ्चालित छ।

अत्याधुनिक सुविधासम्पन्न गुणस्तरीय शिक्षा स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले विद्यालय सञ्चालन गरिएकाले विद्यालयको शुल्क औसत परिवारले धान्न सक्नेगरी निर्धारण गरिएको प्रधानाध्यापक खुलाल बताउँछन्। बेलबारी नगरपालिकाले विभिन्न ५२ ओटा मापदण्डमा मूल्याङ्कन गरी आफ्नो विद्यालयलाई ‘क’ श्रेणीको मान्यता दिएको भएपनि शुल्क भने ‘ग’ श्रेणीका विद्यालयले लिने शुल्कसरह रहेको उनको भनाइ छ। उनका अनुसार एम. फिल. सम्म अध्ययन गरेका दक्ष शिक्षकले अध्यापन गर्ने गरेको हुँदा शिक्षाको गुणस्तर उच्च रहेको छ।

सशुल्क अध्यापनका अतिरिक्त विद्यालयले विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरी गरीब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क तथा सहुलियतपूर्ण शुल्कमा अध्ययनको अवसर पनि दिँदै आएको छ । विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १६ प्रतिशत सिटमा छात्रवृत्ति दिएको प्रधानाध्यापक खुलालले जानकारी दिए। उनका अनुसार बेलबारी नगरपालिकाले रैथाने जाति घोषित गरेको धिमाल समुदायका बालबालिकालाई विद्यालयले २५ प्रतिशत छुट दिँदै आएको छ। यसैगरी, एकै परिवारका दुईमध्ये एक सन्तानलाई २५ प्रतिशत छुट, दुई छोरी रहेमा एक छोरीलाई ३० प्रतिशत छुट र एकल महिलाका सन्तानलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको गुरुकुल पाठशालामा समाजको सिफारिसमा निःशुल्क पनि पढाउने गरिएको विद्यालय प्रशासनले जनाएको छ। सुलभ शुल्कमा गुणस्तरीय र नतिजामुखी शिक्षा दिई आफ्ना बालबालिकालाई विश्वबजारमा सक्षम र प्रतिस्पर्धी जनशक्तिका रूपमा स्थापित गर्नका लागि निश्चिन्त भएर उनीहरूलाई गुरुकुल पाठशालामा भर्ना गर्न विद्यालयले अभिभावकवर्गमा अपिल गरेको छ।

कक्षा ११ को भर्ना प्रक्रियाका लागि असार २१ गते बिहान ७ः०० बजे प्रवेश परीक्षा सञ्चालन हुने गुरुकुल पाठशालाले जनाएको छ।