बेलबारी :
मोरङको बेलबारी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षको बजेट ९७ करोड १५ लाख ८५ हजार रुपियाँ हुनुपर्ने प्रस्ताव गरेको छ ।
गत वर्ष ९६ करोड २६ लाख चार हजार रुपियाँ २२ पैसाको बजेट ल्याएको बेलबारी सरकारले यस वर्ष झिनो वृद्धि सहितको बजेट प्रस्ताव गरेको देखिन्छ । गत वर्षको बजेटभन्दा यस वर्षको प्रस्तावित बजेटमा ८९ लाख ८० हजार नौ सय ९९ रुपियाँ ७८ पैसा मात्र बढी विनियोजन गर्ने बेलबारी सरकारको तयारी छ । अर्थात् बेलबारी सरकारको यस वर्षको बजेट गत वर्षको बजेटभन्दा एक करोड रुपियाँभन्दा पनि कमले मात्र बढी हो । बेलबारी सरकारको यस वर्षको प्रस्तावित बजेटमा एक करोड रुपियाँको वृद्धि कायम हुन पनि १० लाख १९ हजार रुपियाँ २२ पैसा कम पर्न गएको छ । अर्थात् नगर सरकारले गत वष्किो बजेटमा पूरा एक करोड रुपियाँ पनि नबढ्ने ढङ्गले नयाँ बजेट प्रस्ताव गरेको नीति तथा कार्यक्रमको तथ्याङ्कले देखाउँछ ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा भइरहेको निःशुल्क सेनिटरी प्याड वितरणको कार्य अविछिन्न राखिएको छ । यसैगरी, नगर गौरवका आयोजनाअन्तर्गत प्रत्येक वडामा ४० लाख रुपियाँको योजना सञ्चालन गर्ने नीति बेलबारी सरकारले लिएको छ । यस्तै, उपमेयरसँग मातृशिशु, उपमेयरसँग छात्राजस्ता कार्यक्रम अगाडि बढाइने नीति पनि बेलबारी सरकारले तय गरेको छ । बालमैत्री स्थानीय शासनको अवधारणा लागु गर्दै बालमैत्री नगर घोषणा गर्ने तथा बाल विकास र बाल सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्ने नीति पनि बेलबारी सरकारको नीति तथा कार्यक्रममा समाहित छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्ने तथा वातावरणमैत्री नगर घोषणाका साथै भू–संरक्षण, नदी नियन्त्रण, वृक्षारोपणजस्ता दीर्घकालीन महत्वका योजनाले पनि नीति तथा कार्यक्रममा स्थान पाएका छन् । सामाजिक सुरक्षा र पञ्जीकरण सेवालाई व्यवस्थित गर्ने तथा घरनक्सासम्बन्धी सेवालाई डिजिटल प्रविधिसँग आबद्ध गर्ने लक्ष्य पनि बेलबारी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

चालु वर्ष १७ करोड एक लाख रुपियाँ सङ्घीय समानीकरण अनुदानबाट प्राप्त गर्ने लक्ष्य राखेर बजेट कार्यान्वयन गरेको बेलबारी सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सो शीर्षकमार्फत् १७ करोड ६९ लाख रुपियाँको अनुदान भित्र्याउने लक्ष्य राखेको छ । यो रकम गत वर्षको तुलनामा ६८ लाख रुपियँले बढी हो ।
 नेपाल सरकारको राजश्व बाँडफाँट गर्दा प्राप्त भएको रकम चालु आवमा १३ करोड १६ लाख ९२ हजार रहेकोमा आगामी आर्थिक वर्ष २०८१÷०८२ मा त्यस्तो रकम घटेर १३ करोड नौ लाख ८० हजार रुपियँ मात्र प्राप्त हुने प्रक्षेपण नीति तथा कार्यक्रमले गरेको छ ।
प्रदेश सरकार समानीकरण अनुदान शीर्षकको बजेट चालु आर्थिक वर्षमा एक करोड १० लाख ९१ हजार रहेकोमा आगामी वर्ष केही बढेर एक करोड १३ लाख सात हजार रुपियाँ प्राप्त हुने प्रक्षेपण छ ।
प्रदेश सरकारको राजश्व बाँडफाँट शीर्षकबाट चालु आर्थिक वर्षमा एक करोड ६२ लाख सात हजार रुपियाँ आएकोमा आगामी वर्ष केही बढेर एक करोड ६४ लाख १० हजार रुपियाँ बेलबारी सरकारले पाउने अनुमान छ ।
ढुङ्गा, गिट्टी र बालुवा दहत्तर बहत्तर शीर्षकमा चालु आर्थिक वर्षमा दुई करोड रुपियाँ उठाएको बेलबारी सरकारले आगामी वर्ष यो शीर्षकमा चार करोड १० लाख रुपियाँ उठाउने लक्ष्य राखेको छ । घरजग्गा रजिस्ट्रेसन शुल्क असुलीमार्फत् गत वर्ष आठ करोड आम्दानी गरेको बेलबारी सरकारले यस वर्ष त्यस्तो शुल्क पाँच करोड रुपियाँ मात्र सङ्कलन हुने अनुमान गरेको छ ।
आन्तरिक स्रोत शीर्षकको आय चालु वर्ष १० करोड रुपियाँ रहेकोमा यस वर्ष सात करोड रुपियाँ मात्र हुने देखिन्छ ।
नगर मौज्दात चालु वर्ष दुई करोड ५० लाख रुपियाँ रहेकोमा आगामी वर्ष दुई करोड रुपियाँ मात्र मौज्दात रहने देखिन्छ । बेलबारी नगर अस्पतालबाट आगामी आर्थिक वर्षमा चार करोड २३ लाख ५० हजार रुपियाँ आम्दानी गर्ने बेलबारी सरकारको लक्ष्य छ ।
एक करोड रुपियाँ लागत सहभागितामार्फत् सर्वसाधारणसँग उठाउने योजनामा रहेको बेलबारी सरकारले आगामी वर्ष एक करोड रुपियाँ आन्तरिक ऋण उठाउनेछ । यसैगरी, १० लाख रुपियाँ अन्तरसरकारी साझेदारीबाट आम्दानी गर्ने बेलबारी सरकारको अनुमान छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत् बेलबारी सरकारले तीन लाख रुपियाँ आफ्नो आय कोषमा जोड्नेछ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को चालु खर्च व्यवस्थापनका लागि सङ्घीय सरकारबाट ३० करोड ५५ लाख रुपियाँको सशर्त अनुदान पाउने अनुमान गरेको बेलबारी सरकारले पूँजीगत खर्च व्यवस्थापनका लागि यस्तो अनुदान दुई करोड १४ लाख रुपियाँ मात्र पाउने अनुमान गरेको छ । अर्थात् आगामी वर्ष पूँजीगत खर्चभन्दा चालु खर्च नै बढी हुने देखिन्छ । पूँजीगत खर्च कम हुँदा भौतिक विकासका गतिविधि सुस्त हुन पुग्छन् । पूँजीगत खर्चतर्फ एक करोड रुपियाँ सङ्घीय सरकारको विशेष अनुदानबाट बेलबारीको बजेटमा थपिने देखिन्छ । योसमेत जोड्दा पनि आगामी वर्षको पूँजीगत खर्च तीन करोड १४ लाख मात्र हुनेछ । यसमा प्रदेश सरकारबाट आउने पूँजीगत तर्फको अनुदान एक करोड रुपियाँ जोड्दा बेलबारीको पूँजीगत खर्च चार करोड १४ लाखको मात्र हुने देखिन्छ । बेलबारी सरकारले आगामी वर्ष एक करोड ६० लाख रुपियाँ सङ्घीय सरकारबाट समपूरक अनुदान प्राप्त गर्नेछ । यसैगरी, सडक बोर्डबाट बेलबारी सरकारलाई ५० लाख रुपियाँ प्राप्त हुनेछ । चालु खर्च व्यवस्थापनका लागि प्रदेश सकारले बेलबारीलाई एक करोड ६८ लाख रुपियाँ दिनेछ । यसैगरी, थप एक करोड ३० लाख रुपियाँ बेलबारी सरकारले प्रदेश समपूरक अनुदान प्राप्त गर्नेछ ।
व्ययतर्फ दृष्टि दिँदा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बहुवर्षीय र भुक्तानी गर्न बाँकी रकम भुक्तानीका लागि पाँच करोड रुपियाँ मात्र विनियोजन हुनेछ । यो शीर्षकमा चालु वर्षमा नौ करोड ६२ लाख ६४ हजार रुपियाँ २२ पैसा विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको बजेट पनि चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि न्यून विनियोजन भएको देखिन्त । चालु वर्षमा १६ करोड २० लाख रुपियाँ रहेको यस्तो खर्च आगामी वर्ष १५ करोड ४४ लाख ४९ हजार मात्र विनियोजन हुनेछ । समपूरक कोषको व्यय भने चालु वर्षमा ८० लाख रुपियाँ मात्र रहेकोमा आगामी वर्ष दुई करोड रुपियाँ हुनेछ । मर्मतसम्भार शीर्षकमा चालु वर्षको बजेट ४० लाख रुपियाँ कायम रहेकोमा आगामी वर्ष झिनो वृद्धिसहित ४१ लाख रुपियाँ खर्च हुनेछ । विपद् व्यवस्थापन शीर्षकमा चालु वर्षझैँ आगामी वर्ष पनि ४१ लाख रुपियाँ मात्र खर्च गरिनेछ ।
आर्थिक विकास समितिले चालु वर्ष एक करोड १२ लाख ७० हजार रुपियाँ खर्च गर्न पाएकोमा आगामी वर्ष त्यस्तो समितिले कुल एक करोड १५ लाख रुपियाँ खर्च गर्न पाउनेछ । सामाजिक विकास समितिका नाममा नौ करोड ५६ लाख २२ हजार रुपियाँ विनियोजन भएकोमा आगामी वर्ष सो समितिले १० करोड १७ लाख ६८ हजार रुपियाँ पाउनेछ । वन वातावरण तथा विपद् समितिले गत वर्ष ७७ लाख रुपियाँ खर्च गर्न पाएकोमा यस वर्ष सो समितिले ७० लाख रुपियाँ मात्र पाउनेछ । वातावरणीय असन्तुलनका कारण देशभर प्राकृतिक प्रकोप बढिरहेको तथा जलवायुको गुणस्तर खस्किरहेको परिस्थितिका बीच वातावरण शीर्षकको बजेटमा भएको कटौतीले पर्यावरण संरक्षणको गतिलाई सुस्त बनाउने खतरा देखिन्छ । पूर्वाधार विकास समितिका नाममा चालु वर्ष चार करोड २५ लाख २४ हजार रुपियाँ विनियोजन भएकोमा आगामी वर्षका लागि यस्तो बजेट चार करोड ४५ लाख रुपियाँ विनियोजन गर्ने नगर सरकारको तयारी छ । चालु वर्ष सार्वजनिक सेवा तथा क्षमता विकास समितिका नाममा एक करोड ८८ लाख रुपियाँ विनियोजन भएकोमा आगामी वर्षको बजेटमा एक करोड एक लाख रुपियाँ मात्र विनियोजन हुने देखिन्छ । यसले सार्वजनिक सेवाको उपलब्धता वा प्रवाहमा नकारात्मक प्रभाव देखाउने खतरा छ । वडास्तरीय योजना सञ्चालनका लागि चालु आर्थिक वर्षझैँ आगामी वर्ष पनि आठ करोड ४९ हजार रुपियाँ विनियोजन हुनेछ । वडास्तरीय योजनाको बजेट बढाउन सके जनस्तरमा सुविधा विस्तार हुने र सरकारको उपस्थिति प्रतिबिम्बित हुने वातावरण तयार हुन्छ । नगर–वडा साझेदारी शीर्षकको बजेट भने चालु आर्थिक वर्षमा एक करोड ९० लाख रुपियाँ कायम रहेकोमा आगामी वर्ष त्यस्तो बजेट बढाई तीन करोड ३० लाख रुपियाँ पुर्याउने लक्ष्य बेलबारी सरकारले सार्वजनिक गरेको छ ।