माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छन्।
बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ।
परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन्।
कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन्। गणितमा विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन्। विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन्। अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन्।
त्यस्तैगरी, अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ३५२ जना र वातावरणमा ३ हजार ५११ जनाले एनजी ल्याएको तथ्याङ्क छ।
दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ। दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन्।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गरिएको छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ। ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ।