कोशी प्रदेशमा मनसुनजन्य विपद्बाटबाट जनधनको क्षति हुने क्रम बढेको छ भने विपद्को कहरले जनजीवन प्रभावित भइरहेको हो।

अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान तथा चट्याङबाट मानवीय र भौतिक क्षति भइरहेको छ।

मनसुन भित्रिए यता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। १७ जनाभन्दा बढी घाइते र ३ जना बेपत्ता भएको तथ्यांक प्रहरीले उपलब्ध गराएको छ। १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको जनाइएको छ।

प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिमल्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४/४, इलाम र सुनसरीमा २/२, तथा ओखलढुंगामा १ जनाको मृत्यु भएको हो।

बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए। एसपी तिमल्सिनाका अनुसार ताप्लेजुङमा ७५, मोरङमा ६८, संखुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित भएका छन्।