बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ। नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ।

जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ। भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन्। बाजुरामा गत चैतदेखि नै नुन अभाव छ।

भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ। बाजुरामा चारवटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन्।