बेलबारी : मोरङको बेलबारी नगरपालिका १ मा सञ्चालित एकता बचत तथा ऋण सहकारी संस्थाले ३० औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा एक औपचारिक समारोहको आयोजना गरी संस्थाले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले संस्थाले स्थापनाको २९ वर्ष पूरा गरेकोमा खुसी व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे । यस संस्थाले ३० वर्षअघिदेखि नै सर्वसाधारणलाई बचत गर्न प्रेरित गर्दै आएको उल्लेख गर्दै नगरप्रमुख राईले सहकारीले सरकारका नीति र कानूनको अधिनमा रही सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने ढङ्गले सेवा दिनुपर्ने बताए । एउटै व्यक्तिले लामो समयसम्म सहकारीको महत्वपूर्ण पद ओगटेर बसिरहने, एउटै लेखापरीक्षकबाट लामो समयसम्म लेखापरीक्षण गराई मिलोमतोमा आर्थिक अपचलन गर्ने, सहकारीबाट सस्तो ब्याजमा ऋण उठाई महँगो ब्याजमा अन्य व्यक्तिलाई ऋण दिने र सो ऋणको रकम असुल गर्न नसकेपछि सहकारीको ऋण पनि नतिर्नेजस्ता विकृति सहकारी क्षेत्रमा देखिएको नगरप्रमुख राईको भनाइ थियो । विभिन्न पालिकाका जनप्रतिनिधिसमेत सहकारीको रकम अपचलन गरेको अभियोगमा कारबाहीमा परेको बताउँदै उनले बेलबारी नगरपालिकामा अन्यत्र प्रधान कार्यालय रहेका सहकारीलाई शाखा कार्यालय खोल्न रोक लगाइएको जानकारी दिए । स्वार्थबाट माथि उठी सबै पक्षले इमानदारीपूर्वक काम गरे सहकारीका माध्यमबाट समृद्धि सम्भव रहेको नगरप्रमुख राईको भनाइ थियो ।
यसैगरी, कार्यक्रमकी सभाध्यक्षसमेत रहेकी संस्थाकी अध्यक्ष मिनु राईले २०५२ सालमा सङ्घसंस्थाको सक्रियता अत्यन्त न्यून रहेको समयमा स्थापित भएको यो संस्था विभिन्न अवरोधको सामना गर्दै आजसम्म निरन्तर रूपमा सञ्चालनमा रहेको बताइन् । संस्थाको सञ्चालन र व्यवस्थापनमा समाजका विभिन्न व्यक्तित्वहरूको महत्वपूर्ण योगदान रहेको तथ्य पनि अध्यक्ष राईले स्मरण गरिन् ।
यसैगरी, बेलबारी नगर सहकारी सञ्जालका अध्यक्षसमेत रहेका लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा गौतमले बेलबारी नगरपालिकामा ६६ वटा सहकारी दर्ता रहेकोमा सोमध्ये ३० वटा सहकारीको गतिविधिबारे नगरपालिका र सहकारी सञ्जाल दुवै बेखबर रहेको बताउँदै त्यस्ता निस्कृय सहकारीलाई प्रवद्र्धन गर्न या खारेज गर्न नगरपालिकासँग अनुरोध गरे । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारमा सहकारी दर्ता गर्न पाइने व्यवस्था रहेको तर ती सहकारीको एकीकृत तथ्याङ्क कुनै पनि निकायसँग नरहँदा आर्थिक अपचलनजस्ता विकृति बढेको भन्दै उनले सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गरे । सहकारी ठगीसम्बन्धी मामिलाको अनुसन्धानका लागि संसदीय समिति सङ्घीय संसदको प्रतिनिधिसभामा गठन भएको बताउँदै उनले अब सहकारीको ऋण नतिर्ने ऋणीको नाम पनि कालो सूचीमा राख्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिए ।
यसैबीच, संस्थाकी संस्थापक अध्यक्ष सकुन्तला सुवेदी, संस्थापक उपाध्यक्ष पञ्चलक्ष्मी राईलगायत महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा मोरङ जिल्ला साकोसकी प्रतिनिधि इन्दिरा दाहाल भट्टराई, महिला प्रतिभा सङ्घ मोरङकी वरिष्ठ उपाध्यक्ष भगवती श्रेष्ठ, जिल्ला सहकारी सङ्घ मोरङकी उपाध्यक्ष पार्वती बराल, एकता साकोसकी संस्थापक अध्यक्ष सकुन्तला सुवेदी, सल्लाहकारहरू ललित राई र सीता खुलाल लगायतको उपस्थिति रहेको थियो ।