काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक वर्ष २०८१र८२ का लागि विभागहरूले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ।

विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन्। बैठकमा विषयगत समितिका संयोजकहरु थिए। प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरूलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन्।

हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो।

आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ।

नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ। अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ। बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरू पेश हुनेछन्।