बेलबारी : अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मोरङको बेलबारी नगरपालिका ३ स्थित श्री आधारभूत विद्यालयमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको छ। राधाकृष्ण खोरिया टोल विकास संस्था र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न योग अभ्यास कार्यक्रममा जीवन विज्ञान केन्द्र मोरङले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले योग दिवसका अवसरमा योग अभ्यास कार्यक्रम राखेकोमा विद्यालयलाई धन्यवाद दिँदै विद्यालय सञ्चालनका लागि जनप्रतिनिधिका रूपमा सहयोग गर्न आफू तयार रहेको बताए। आसन्न नगरसभाबाट सो विद्यालयको भौतिक अवस्था सुधारका लागि बजेट विनियोजन गराउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत वडाध्यक्ष सुवेदीले व्यक्त गरे।
नसर्ने रोगबाट पीडित व्यक्तिको उपचारमा नगर सरकारले सहयोग गरिरहेको स्मरण गर्दै उनले स्वस्थ जीवनयापनका लागि अर्गानिक खाद्य पदार्थको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिए।
योग अभ्यास कार्यक्रममा जीवन विज्ञान केन्द्र मोरङका संयोजक चन्द्र चेम्जोङले सहभागीहरूलाई योग प्रशिक्षण दिएका थिए। प्रशिक्षण सत्रलाई सम्बोधन गर्दै उनले अस्वस्थकर जीवनशैलीका कारण धेरै मानिस नसर्ने प्रकृतिका दीर्घरोगबाट पीडित भइरहेकाले त्यस्ता रोगबाट मुक्त हुन योग र ध्यान गर्नुपर्ने बताए।
यसैबीच, बेलबारी जेसिसले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गरेको छ। विद्यार्थीलाई आवश्यक पर्ने कापी, कलमजस्ता सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाका निवर्तमान नगर अध्यक्ष ऐश्वर्यप्रसाद आचार्यले जानकारी दिए।
यसैगरी, कार्यक्रमका क्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीवन विज्ञान केन्द्रका कोशी प्रदेश सदस्य खगेन्द्रप्रसाद न्यौपाने, बेलबारी ३ की दलित महिला सदस्य तारा परियार, वडा सदस्य खगेन्द्र राई, आयोजक राधाकृष्ण खोरिया टोलका वरिष्ठ उपाध्यक्ष भक्त विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।